काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा सरकारले संस्थानकै जुनियर कर्मचारीलाई महाप्रवन्धक नियुक्त गरेपछि संस्थानमा भाँडभैलो भएको छ ।
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुग्ध विकास संस्थानका सिनियर कर्मचारीलाई पन्छाउदै सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । गत सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेपनि झाले हिजो विहिबारमात्र पदबहाली गरेका थिए ।
सरकारले मंसिर तेस्रो हप्ता नै झालाई महाप्रबन्धक नियुक्त गर्न प्रशासन प्रमुख दिपक सुवेदीलाई सरुवा गरेर बाताबरण बनाउन प्रयास गरे पनि सफल हुन सकेको थिएन । व्यापक आलोचना पश्चात सुवेदीको सरुवा तत्कालै फिर्ता गर्न मन्त्रालय बाध्य भएको थियो ।
चरम राजनीतिक हस्तक्षेपको मारमा परेको संस्थानमा मन्त्री महिन्द्र राय यादवले आफ्नो नजिकका मानिने झालाई पुनः नियुक्त गर्न सफल भएका छन् ।
पदबहाली कार्यक्रममा दुग्ध विकास संस्थानका सिनियर र टेक्नीकल कर्मचारीहरुकोही पनि उपस्थित नभई बहिष्कार गरेका छन् । कार्यक्रममा राजेन्द्रप्रसाद अधिकारी, दिपक सुबेदी, गोविन्दराज जोशीलगाएतका सिनियर कर्मचारीहरु र विभागिय प्रमुखहरुले झालाई बहिष्कृत गरे ।
दुग्ध विकास संस्थान संचालन गर्न टेक्निकल र प्राविधिक बुझेको मान्छे चाहिन्छ, तर सञ्जीव झा प्रशासनका मान्छे हुन अर्को कुरा झा अहिले सम्म कुनै प्रमूख वा कार्यकारी पोष्टमा बसेका छैनन त्यसैले संस्थान चल्न गार्हो रहेको कर्मचारीको भनाई छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले महाप्वन्धकमा नियुक्त हुन सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भनेको थियो तर महाप्रवन्धकमा नियुक्त झाको यसमा पनि कैफियत रहेको बताईएको छ ।