युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप

युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप

२०७८, चैत्र १९ शनिवार

  • 693
    SHARES

  • युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप

    आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ।

    युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्रमण रहेको आरोप रुसी अधिकारीको छ ।

    सामाजिक सञ्जाल ट्वीटरमा साझा गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट आगोको मुस्लो दन्किँदै गरेको देखिन्छ ।

    केही भिडियो क्लिपमा रकेटले इन्धन डिपोलाई प्रहार गर्दै गरेको पनि देखिन्छ । रुसले आक्रमणको आरोप लगाए पनि युक्रेनका शीर्ष सुरक्षा अधिकारीले इन्धन डिपोमा भएको आक्रमणमा रुसी सुरक्षाकर्मीको संलग्नता नरहेको बताएका छन् ।

    ‘केही कारणले यो आक्रमणमा हामी संलग्न रहेको उनीहरुले बताइरहेका छन् । तर यो सत्य होइन’, युक्रेनको सुरक्षा परिषदका सचिव ओलेक्सी डानिलोभले बताएका छन् । युक्रेनका विमानले यसअघि रुसी भूमिमा निशाना बनाएको प्रमाण छैन ।

    तर बेल्गोरोडका गर्भनरले भने युक्रेनले आक्रमण गरेको आरोप लगाएका छन् । यस्तै रुसी रक्षा मन्त्रालयले पनि युक्रेनी एमआइ–२४ हेलिकप्टरले इन्धन डिपोमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । सो इन्धन डिपो रुसी सैनिकसँग सम्बन्धित नरहेको रक्षा मन्त्रालयको भनाइ छ ।

    यस्तै राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनाले जारी शान्ति वार्तालाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन् ।

    रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । रुसी आक्रमणको निशानामा युक्रेनका सार्वजनिक स्थल, आवासीय क्षेत्र, अस्पताल, विद्यालय, सर्वसाधारणले आश्रय लिएका स्थानसहित आएका छन् । -एजेन्सी ।

    २०७८, चैत्र १९ शनिवार०७:५०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार