रुसी सैनिकले युक्रेनको राजधानी किएभको बाहिरी क्षेत्र बुचासहितमा सर्वसाधारणको हत्या गरेको सम्बन्धमा आपसमा चर्चा गरेको सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बुचामा भएको सर्वसाधारणको हत्याबारे रुसी सैनिकले चर्चा गरेको जर्मन गुप्तचरलाई उद्धृत गर्दै जर्मन सञ्चारमाध्यमले उल्लेख गरेका हुन् ।
रुसी सैनिकले गरेको कुराकानी रेडियो ट्राफिक मार्फत ट्रयाक गरेर त्यसलाई जर्मन बिएनडी गुप्चर निकायले अनुवाद गरेको हो ।
त्यसमा रुसी सैनिकले सर्वसाधारणको हत्याबारे गरेको चर्चा र शव पाइएको स्थानको कुरा मेल खाएको जर्मनीको डेर स्पिगल म्यागजिनले जनाएको छ ।
बिएनडीले हालसम्म यससम्बन्धमा सार्वजनिक रुपमा कुनै टिप्पणी गरेको छैन ।
युक्रेनका अनुसार बुचामा रुसी सैनिकले ३०० भन्दा बढी सर्वसाधारणको हत्या गरेका थिए । रुसले भने हालसम्म सर्वसाधारणको हत्या गरेको स्वीकार गरेको छैन ।
बुचाबाट रुसी सैनिक फिर्ता भएपछि त्यहाँ भएको विनाश र अत्याचारका तस्बिर सार्वजनिक भएका थिए । बाटोमा अलपत्र अवस्थामा सर्वसाधारणका शव भेटिएका हुन् ।
यस्तै केही व्यक्तिलाई हात बाँधेर नजिकबाट गोली हानिएको तथा पूरै परिवारको नै हत्या गरी जलाउने प्रयास भएको देखिएको थियो । विश्व समुदायले बुचामा भएको अत्याचारलाई लिएर रुसको घोर निन्दा गरेका छन् ।
युक्रेनले रुसमाथि ‘नरसंहार’ तथा युद्ध अपराधको आरोप लगाएको छ । उसले प्रमाणहरु संकलन भइरहेको बताएको छ । जर्मन गुप्तचर नियकाको पछिल्लो सूचनाले युद्ध अपराधको आरोपलाई पुष्टि गर्न सहयोग गर्ने ठानिएको छ ।
गएको फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सैनिकले युक्रेनमाथि आक्रमण थालेका थिए । त्यस लगत्तै बुचामा रुसी सैनिकले कब्जा जमाएका थिए । तर गत हप्ता उनीहरु बुचाबाट फिर्ता भएका हुन्, हाल सो क्षेत्र युक्रेनको नियन्त्रणमा आएको छ ।
डेर स्पिगलले बिहीबार प्रकाशित गरेको खबर अनुसार बिएनडीको गुप्तचर सूचना सांसदहरुलाई बुधबार ब्रिफिङको क्रममा साझा गरिएको थियो । एक रेडियो सन्देशको क्रममा रुसी सैनिकले सर्वसाधारणलाई यातना दिएपछि गोली हानेको बारे बताएको म्यागजिनमा उल्लेख छ ।
यस्तै अर्को सन्देशमा रुसी सैनिकले साइकल चलाउँदै गरेका एक व्यक्तिमाथि गोली प्रहार गरेको बारे चर्चा गरेका छन् । सो कुरा बुचामा साइकलमै गोली हानिएका कारण बाटोमा लडेको अवस्था देखिएको शवसँग मेल खाएको हो ।
बुचामा भएको हत्यामा रुसी सैनिकको ‘प्राइभेट वाग्नर ग्रुप’ ले प्रमुख भूमिका खेलेको पनि रेडियो सन्देशबाट खुलेको छ । -एजेन्सी ।