काँग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ

काँग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ

२०७९, बैशाख १ बिहिवार

  • 781
    SHARES

  • काँग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ

    काठमाडौं । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

    काँग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई आधार मानेर घोषणा पत्र बनाउँदै छ । घोषणापत्र सार्वजनिक गर्ने मिति भने लोकतन्त्र दिवसका दिन अर्थात् ११ वैशाखलाई तोकिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।  

    महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको केन्द्रीय घोषणापत्र निर्माण समितिमार्फत स्थानीय तह निर्वाचनका लागि काँग्रेसले घोषणापत्र बनाउँदै गरेको हो ।

    काँग्रेसले केन्द्रबाट जारी गर्ने घोषणापत्रमा राजनीतिक खण्ड र संकल्प खण्ड गरी दुई खण्ड रहनेछ । यस्तै, बितेको पाँच वर्षमा भएका गतिविधिको समीक्षा र आगामी पाँच वर्षमा काँग्रेसले लिने नीति र प्रतिबद्धता तथा काँग्रेसको कार्यदिशासमेत घोषणापत्रमा ल्याउने काँग्रेसको तयारी छ । राजनीतिक खण्डमा हालसम्मका राजनीतिक उपलब्धि र संकल्प खण्डामा आगामी नीति रहनेछ ।

    घोषणापत्र तयारी समितिका सदस्यसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभरबाट प्राप्त सुझावलाई आधार मानेर केन्द्रीय तहमा घोषणापत्रको खाका बन्दै गरेको र केन्द्रले बनाएको अवधारणालाई पार्टी संयन्त्रमार्फत ७ सय ५३ वटै स्थानीय तहमा पठाइने जानकारी दिए । 

    ‘देशभरबाट आएका सुझावलाई लिएर घोषणापत्र बनाउने काम भइरहेको छ, विषय विज्ञमार्फत घोषणापत्रलाई अन्तिम रूप दिने र केन्द्रले बनाएको घोषणापत्रको अवधारणा ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी भइरहेको छ, केन्द्रले बनाएको अवधारणामा टेकेर स्थानीय तहले स्थानीय आवश्यकताअनुसार आफ्नै घोषणापत्र बनाउन सक्नेछन्,’ केन्द्रीय सदस्य शिवाकोटीले भने । 

    काँग्रेसले घोषणापत्र बनाउँदा स्थानीय तहका अन्तर्राष्ट्रिय रूपमा भएका अभ्यासलाई पनि अध्ययन गर्दै छ । अन्तर्राष्ट्रियस्तरमा काम गरेका आफ्ना निकटका विज्ञमार्फत काँग्रेसले स्थानीय तहलाई व्यवस्थित बनाउने नीति लिँदै घोषणापत्रमा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि प्राथमिकतामा राख्दै छ ।

    यसैगरी, २०७४ सालमा स्थानीय तहमा जित्दै गर्दा गरेका प्रतिबद्धता र पूरा गरिएका काम तथा बाँकी रहेका काम पनि घोषणापत्रमा समेट्न स्थानीय तहका संयन्त्रलाई काँग्रेसले भनेको छ । जितेका ठाउँमा भएका कमजोरीलाई पनि घोषणापत्रमा ध्यान दिन काँग्रेसले स्थानीय तहका पार्टी संयन्त्रलाई भनेको हो ।

    यसैगरी, काँग्रेसले स्थानीय तहमा पार्टीको नेतृत्व स्थापित हुँदा के गर्ने के नगर्ने भन्ने विषय पनि घोषणापत्रको अवधारणमा राखेको छ । काँग्रेसले घोषणापत्रको केन्द्रीय अवधारणामा अनावश्यक रूपमा भ्यु टावर र गेट बनाउने विषयलाई प्राथमिकतामा नराख्नसमेत बताएको छ ।

    यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, आर्थिक विकास, गरिबी निवारण, महिला सशक्तीकरणका विषयमा पनि स्थानीय आवश्यकता हेरेर केन्द्रीय अवधारणाअनुसार घोषणापत्र बनाउन स्थानीय तहलाई आग्रह गर्ने तयारी काँग्रेसको छ ।

    २०७९, बैशाख १ बिहिवार०७:५४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार