दमक । नेकपा एमालेले विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै उपमेयरमा हालका २ नं. वडा अध्यक्ष रहेका नरेन्द्र संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।
त्यस्तै, नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ । उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले बताए ।
एमालेले दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ । एमाले श्रोतका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जनाइएको छ । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।
एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार वडा नं ५ का अध्यक्ष सुवेदीलाई मेयर बनाउने निर्णय गरिएको हो ।
एमालेले कमल गाउँपालिका अध्यक्षको उमेद्वार भीम राईलाई बनाएकोे छ भने उपाध्यक्षमा उषा भण्डारीलाई अगाडी सारेको छ ।
नेकपा एमालेले कनकाई नगरपालिका प्रमुख र उपप्रमूखमा हालकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । मेयरमा राजेन्द्र पोखरेलको नाममा कुनै समस्या नभए पनि उपमेयरमा मन्जु प्रसाईंका विषयमा लामो छलफल पश्चात पुनः प्रसाईँलाई दोहोर्याउने निर्णयमा एमाले पुगेको हो । प्रसाईँ सहिद रामनाथ दहालकी सुपुत्री हुन् ।