काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरुलाई पदमुक्त गरेका हुन् ।
विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकाल सम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले विज्ञप्तिमा लेखेका छन् ।
यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’
केही दिन अघिमात्र हेमन्त प्रकाश ओलीले निर्वाचनमा जाने कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएका थिए ।