काठमाडौं । अर्ध भुमिगत शैलीमा विशेष प्रकृतिको क्षेत्रमा काम गर्ने नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आक्रामक रुपमा चुनावी अभियान अगाडी बढाएको छ ।
विशेष प्रदेश मातहतका पेशागत विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अन्तर्गतका ३५ हजार संगठित नेता कार्यकर्ता निर्वाचनमा परिचालित छन् । निर्वाचन अवधिभर विशेष क्षेत्रका कार्यकर्ताले दैनिक कार्यक्रम तथा गतिविधिलाई व्यवस्थित रुपमा टिपोट गरेर सम्बन्धित जिल्ला कमिटीमा पेश गर्न समेत प्रदेशले निर्देशन दिएको छ ।
चुनावका सन्दर्भमा बैशाख ३ गते बसेको प्रदेशको बैठकले उपत्यकाका ३ जिल्लाको चुनावी कमाण्ड गर्ने गरि काठमाडौंमा विदुर कार्की, भक्तपुरमा उर्मिला सुनुवार र ललितपुरमा चन्द्र रिजाललाई तोकेको थियो । सोही बमोजिम प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, संघसंस्थामा कार्यरत कर्मचारीहरु, मजदुर, विद्यार्थी, युवा, इन्जिनियर, शिक्षक, खेलाडी, रिटर्नी फेडेरेसन, पर्यटन व्यवसायी, उद्योगी लगाएत निर्वाचनमा खटिएका हुन् ।
प्रदेशको निर्देशन अनुसार विशेष जिल्ला कमिटीले आफ्नै संयन्त्र पनि निर्माण गरेका पेशागत विशेष जिल्ला कमिटी सचिव प्रकाश भट्टराईले बताए । यद्यपि जिल्लाबाट परिचालित कार्यकर्तालाई प्रदेशका नेताले संयोजन गरिरहेका छन् ।
बैशाख १४ गते भक्तपुरमा बृहत भेला गरेको प्रदेशको कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका एमाले पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवार क्रमशः मदन सुन्दर श्रेष्ठ र उत्तरा नेपाल तथा सुर्यविनायक नगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवार क्रमशः बासुदेव थापा र सरिता भट्टराईले आ आफ्ना योजना प्रस्तुत गरेका थिए ।
त्यस्तै, बैशाख १६ गते ललितपुर जिल्लाको भेलामा ललितपुर उपमहानगरपालिकाका प्रमुख र उपप्रमूखका उमेदवार क्रमशः हरिकृष्ण व्यञ्जनकार र मञ्जली शाक्य उपस्थित रहेका थिए । भेलालाई ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, विशेष प्रदेश कमिटी अध्यक्ष प्रेम कुमार पराजुली, पेशागत विशेष जिल्ला कमिटी अध्यक्ष उमेश ढकाल लगाएतले सम्बोधन गरेका थिए ।
बैशाख १७ गते नागार्जुन नगरपालिका र टोखा नगरपालिकामा बृहत भेला संचालन भएका थिए । टोखा नगरपालिकामा पेशागत विशेष जिल्ला कमिटी सचिव प्रकाश भट्टराईको नेतृत्वमा भएको कार्यक्रममा टोखा नगरपालिका प्रमुख र उपप्रमुखका उमेदवार क्रमशः प्रकाश अधिकारी र ज्ञानुमाया डंगोलसँग अन्तरक्रियात्मक कार्यक्रम समेत संचालन भएको थियो ।
उमेदवारले आफ्ना प्रतिवद्धता एवं योजना प्रस्तुत गर्दा उत्साही वातावरण बनेको थियो । भट्टराईका अनुसार टोखामा मात्र २५ सयको हाराहारीमा विशेष क्षेत्रमा काम गर्ने मतदाता कार्यकर्ताको नामावली रहेको छ ।
बैशाख १८ गते महालक्ष्मी नगरपालिकामा उमेदवारसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै ३ वटै जिल्लाका पालिका तथा वडा संयोजक समेत तोकिएको छ । संयोजकहरुले प्रत्येक वडावडामा पुगेर चुनावी घरदैलो अभियानमा सघाईरहेका छन् ।