चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

२०७९, बैशाख २१ बुधवार

  • 833
    SHARES

  • चितवनमा प्रधानमन्त्री देउवा निजी गाडीमा

    चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् ।  

    नेपाली काँग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । 

    प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । 

    काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन् । श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए । उनले भने, “यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।”

    श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नु हुनेछ । उनले थपे, “सबै खर्च पार्टीले गर्नेछ ।” सभापति देउवा र उहाँको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै छन् । 

    पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन् । उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली काँग्रेसले भाडामा ल्याएको हो । उनले भने, “निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।”

    जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आएका छन् ।  

    सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

    भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन् ।  

    त्यस्तै उपप्रमुख पदमा नेपाली काँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् । 

    २०७९, बैशाख २१ बुधवार०९:१०:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार