काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णयअनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो । सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले नेपाल समाचारपत्रसँग अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मतदान केन्द्र भएका विद्यालय तीन दिनसम्म बन्द हुने बताए । उनका अनुसार निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न केन्द्रले बिहीबार सबै स्थानीय तहसंग सहजीकरण गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ । ३१ गते शनिबार परेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ । जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । यसरी देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले उपत्यकाका निजी विद्यालय ३ दिनसम्म बिदा हुने बताए । उनले भने– ‘उपत्यका बाहिरका अभिभावक मौन अवधिको एक दिनपछि अर्थात् वैशाख २८ गतेबाटै मतदान गर्न उपत्यका बाहिर जानुपर्ने भएकाले सो दिनदेखि विद्यालयमा बिदा हुने छ ।’ बिदाको विषयमा संस्थागत निर्णय नगरिएको जानकारी दिंदै उनले भने– ‘स्थानीय निकाय अन्तर्गतका कमिटी आफैंले निर्णय गर्लान्, उपत्यकाको हकमा २८ देखि बिदा दिनेछौं । ‘यस विषयमा संस्थागत निर्णय नगरेकोले सोहीअनुसार कार्यान्वयन गर्न अनौपचारिक निर्णय गरिएको छ ।’
निर्वाचन, आइतबार बिदा दिने सरकारी निर्णय र बुद्ध जयन्तीका कारण देशैभरका निजी र सामुदायिक विद्यालय ६ दिन बन्द रहने देखिएको छ । तर शैक्षिकसत्र शुरू नभएको कारण यति लामो समय बिद्यालय बन्द हुँदा पनि खासै समस्या नपर्ने विद्यालय सञ्चालको भनाइ छ ।
केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरूमा सो अवधिमा विद्यार्थीलाई बैकल्पिक पद्दतिबाट पठनपाठनको व्यवस्था गर्न इकाइलाई निर्देशन दिएको छ ।
केन्द्रसंग यति विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ भन्ने तथ्याङ्क छैन । तैपनि, अधिकांश विद्यालयमा केन्द्र कायम गरिएकाले सबैजसो विद्यालय बन्द हुने सम्भावना रहेको छ ।