संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री

२०७९, बैशाख २३ शुक्रवार

  • 933
    SHARES

  • संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री

    काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताएका छन् । 

    पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले भने “संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि मुलुकका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।”

    उनले सबै मिलेर सत्तागठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड दिए । विगतमा आफू एक्लै निर्वाचनमा जाने रहर गर्दा पराजित भएको तथ्य पेश गर्दै सभापति देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाए । 

    काँग्रेसको केही समयअघि सम्पन्न १४औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको जानकारी दिए । “अहिले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका छन् । विगतमा विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने यसको खिलाफमा छन्”, सभापति देउवाले भने । 

    मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ र अर्को महानगर भरतपुर प्रमुखमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उनले मतदातासमक्ष विजयी गराउन आह्वान गरे । 

    काठमाडौँ महानगरको प्रमुखको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उनले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उनको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गरे । 

    त्यसैगरी भरतपुर महानगरका प्रमुखका उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उनले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पारे । 

    काठमाडौँ महानगरको समग्र व्यवस्थापनका सन्दर्भमा उम्मेदवार सिंहका तर्फबाट प्रस्तुत गरिएको प्रतिबद्धताको प्रसंशा गर्दै प्रधानमन्त्री देउवाले छ महिनाभित्र यहाँको फोहोर व्यवस्थापन गरी सुन्दर नगरी बनाउने र त्यसबाट ऊर्जा उत्पादन गरेर चुल्हो बाल्न र सवारी साधनसमेत चलाउन सकिने बताए । सो कार्यका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

    उनले केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जनमानसमा डर, त्रास र आतङ्क रहेको स्मरण गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुसी भएको समेत जानकारी गराए । उनले भने “सत्ता गठबन्धन जिन्दावाद । सबै मिलेर सफल पार्नुपर्छ ।” 

    २०७९, बैशाख २३ शुक्रवार०७:२८:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार