अन्य दलको झन्डा प्रयोग नगर्न आयोगको चेतावनी

अन्य दलको झन्डा प्रयोग नगर्न आयोगको चेतावनी

२०७९, बैशाख २४ शनिवार

  • 849
    SHARES

  • अन्य दलको झन्डा प्रयोग नगर्न आयोगको चेतावनी

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

    स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर आयोगको चेतावनीबारे जानकारी गराएका हुन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्नरनगराउन आयोग सबैमा आग्रह गर्दछ ।’

    अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीतको कार्य हुने पनि आयोगले स्मरण गराएको छ ।

    आयोगले भनेको छ, ‘स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झन्डा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीको विषयमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    अन्य दल तथा उम्मेदवारको झन्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने देखिन्छ ।

    २०७९, बैशाख २४ शनिवार०७:२८:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार