निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारबाहीको भागिदार हुनेछ : गृह मन्त्रालय

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारबाहीको भागिदार हुनेछ : गृह मन्त्रालय

२०७९, बैशाख २७ मंगलवार

  • 817
    SHARES

  • निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारबाहीको भागिदार हुनेछ : गृह मन्त्रालय

    काठमाडौं । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारबाहीको भागीदार हुने जनाएको छ ।

    मन्त्रालयले एक विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।

    निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारबाहीको भागीदार हुने उल्लेख गरेको छ ।

    निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्ति जनाइएको छ ।

    स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हँुदैछ । नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरूप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र करिब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ ।

    मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ । निर्वाचन असल सामाजिक संस्कार, सद्भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसरसमेत हो ।

    निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनामा साथ दिनुहुन मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

    २०७९, बैशाख २७ मंगलवार०७:१३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार