श्रीलंकाको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश दिएको छ।
मन्त्रालयले मंगलबार साँझ आदेश जारी गरेको हो।
अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ।
देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, ‘सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा कसैको ज्यान जोखिम पार्ने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्ने आदेश दिइएको छ।’
आदेश जारी हुनुभन्दा एक दिनअघि मात्रै आन्दोलनकारीको एक समूहले सत्तारूढ दलका नेताहरूको घरमा निशाना बनाएर आगजनी गरेको थियो।
राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो। यस अवस्थालाई ध्यानमा राख्दै देशको सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ।
अब सेनाले मानिसहरूलाई प्रहरीलाई सुम्पनुअघि २४ घण्टासम्म हिरासतमा राख्न सक्छ। यसैगरी निजी सवारी साधन लगायतका व्यक्तिगत सम्पत्ति जुनसुकै बेला पनि खोजी गर्न सक्छ।
देशमा इन्धन, खाद्यान्न, औषधि र आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण आमजनता एक महिनाभन्दा बढी समयदेखि राजापाक्षे परिवारविरुद्ध कोलम्बोको सडकमा उत्रिएका छन्।
गत सातासम्म अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि पछिल्ला केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको छ।
प्रदर्शनकारीहरूले देशमा देखिएको भयावह आर्थिक संकटका लागि राष्ट्रपति गोताबाया राजापाक्षे जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने माग गरेका छन्।
यसअघि सोमबार उनका भाइ तथा देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफ्नो पदबाट राजीनामा दिएका थिए। यद्यपि यो राजीनामाले आक्रोशित आन्दोलनकारीको आक्रोश शान्त पार्न सकेन।
मंगलबार सरकारले ‘कसैको ज्यान जोखिममा पार्ने व्यक्तिले सुरक्षाकर्मीलाई सिधै गोली हान्न सक्ने’ अधिकार सुरक्षा निकायलाई दिएको छ।
राजधानी कोलम्बोको सडकमा दशौँ हजार सेना, नौसेना र वायु सेनाका सैनिकहरू तैनाथ गरिएको छ। उनीहरूले सहरमा गस्ती गरिरहेका छन्।
प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ र हिंसात्मक प्रदर्शनमा कूल २०० जना घाइते भएका छन्। -एजेन्सी ।