काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
उनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नु भएको थियो ।
सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनले बताए।
प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए।उनले अनुसार जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुने प्रवक्ता पाण्डेले बताए।
जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए।
प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने बताए। पाण्डेका अनुसार प्रतिनिधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुने बताए।