काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि मंहगी नियन्त्रण तथा रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याई त्यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले मुलुकको अर्थतन्त्रमा आएको समस्याको सबै दल मिलेर गम्भीर छलफल गर्नुपर्ने भन्दै ३ सय ३० अर्बको खाद्यान्न नेपालमा आयत भइरहेकाले खाद्यान्नको उत्पादन मुलुकमै बढाउने विषयमा अहिलेसम्म छलफल समेत नभएको टिप्पणी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम बहादुर रावलले पुँजीगत खर्च बढाउन ठोस नीति ल्याउनुपर्ने, विदेशी मुद्रा आर्जन गर्नेबारे स्पष्ट दृष्टिकोण सरकारसँग हुनुपर्ने बताए।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले राजनीतिक व्यवस्था बदलेपनि आर्थिक तथा वित्तीय व्यवस्था पुरानै भएको भन्दै सेवा क्षेत्र सामाजिक दायित्वबाट पन्छिँदै नाफामुखी बन्दै गइरहेको बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमा वृद्धि, रोजगारीमा वृद्धि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा महत्त्वका साथ अबको बजेटले समेट्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाको बैठक जारी छ ।