नवनिर्वाचितको कार्यकाल आजबाट सुरु

नवनिर्वाचितको कार्यकाल आजबाट सुरु

२०७९, जेठ ६ शुक्रवार

  • 885
    SHARES

  • नवनिर्वाचितको कार्यकाल आजबाट सुरु

    काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ ।

    २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।

    संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

    संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार रातिसम्म ६ सय बढी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको र शुक्रबार (आज)बाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु हुने जानकारी दिए । 

    ‘संवैधानिक व्यवस्थाअनुसार नै बिहीबार रातिबाटै २०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो, यससँगै नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रबारबाटै सुरु हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने । 

    प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम सार्वजनिक भइसकेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथ गराउन आयोगले निर्देशन दिइसकेको र केही जिल्लामा धमाधम शपथ भइरहेको पनि बताए ।

    २०७९, जेठ ६ शुक्रवार०८:१४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार