काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरावलोकन गर्ने तयारी थालेको छ।
बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ।
यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरावलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताउ्ए । यो समाचार आजको नागरिक छापिएको छ ।
सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए ।
उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ‘खास गरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।’
यस निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नगर्न कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको पनि सचिव अधिकारीले बताए । खानेपानी, विद्युत्, दूरसञ्चार, पासपोर्ट लगायत अत्यावश्यकीय सेवा प्रभावित नहोस् भनेर आइतबार पनि कार्यालय खुला राख्ने र त्यस दिन काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको छ,’ उनले भने । सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा अर्को साता फेरि समीक्षा हुने उनले जानकारी दिए ।