हे मनुवा,
ङिच्च दाँत देखाउँदै,
रुन्चे हाँसो हाँस्दैमा,
जुलुसमा जिन्दाबाद भन्दैमा
संग संगै हिँड्दैमा
रातो अविर मुखमा दल्दैमा
सयपत्री माला लाउँदैमा
नेता भइँदैन,
चिप्ला र चिल्ला कुरा गर्दैमा,
आदर्श र दर्शन छाँट्दैमा
चर्को स्वरमा फलाक्दैमा
नेता भइदैन,
हे मनुवा,
नेता बन्न त !
जन जनमा
मन मनमा छिर्नु पर्छ ।
हे मनुवा !
रुखलाई हाल्छु भन्थ्यौ
लौरोलाई हाल्यौ,
सुर्यलाई हाल्छु भन्थ्यौ
बीडमा हाल्यौ,
हलोमा हाल्छु भन्थ्यौ
लौरोको टुप्पामा हाल्यौ
कलमलाई हाल्छु भन्थ्यौ
मसीलाई हाल्यौ,
दललाई हाल्छु भन्थ्यौ
मादललाई हाल्यौ,
त्यसैले
तिमीले घात गर्यौ,
तिमी घाती हौ !
तिम्ले खुस खुस गर्यौ,
तिमी खुराफाती हौ !
अन्तरपार्टी कर्म गर्यौ
तिमी अन्तरघाती हौ !
हे मनुवा,
तिमी पागल हौ
जीतको दर्जमा नाखुस हुने
हारको दर्दमा गद् गद् हुने
तिम्रो नियत नै खोट छ
मनभित्र गहिरो चोट छ
तिमी घाती हौ
खुराफाती हौ
तिमी अन्तरघाती हौ ।