वीरगञ्ज । मधेस प्रदेशको महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बिजय कुमार सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरे । उनी निकटतम प्रतिस्पर्धी राजेशमान सिंहसँग २२ हजार ५४४ मतान्तरले पराजित भए ।
राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरे।
यस्तै, महानगरको उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन्।
उनी ३० हजार ७८ मत प्राप्त गरि विजयी भएका छन् ।
उनी पनि निकटतम प्रतिद्वन्द्वीसँग २० हजार ५१० मत अन्तरले विजयी भएका हुन सफल रहे ।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम झाले ९ हजार ५६८ मत प्राप्त गरेका छन्।
वीरगञ्ज महानगरपालिकामा सतारुढ पाँच दलीय गठबन्धनबाट जसपाका सिंह मेयरमा उठेका थिए।
अर्कोतर्फ एमाले र लोसपाबीच भएको गठबन्धनबाट मेयरमा एमालेका सरावगी र उपमेयरमा लोसपाका झा प्रतिस्पर्धामा थिए ।