काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायसँग छलफलै नगरी सरकारले लागू गरेको आइतबार बिदा दिने निर्णयले विद्यार्थीहरूको सिकाइमा असर पर्ने हुँदा तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमानेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले सरकारको आइतबार बिदा दिने निर्णय वैज्ञानिक नभएकाले नेशनल प्याब्सन नेपालले सङ्घ, प्रदेश जिल्ला र पालिका समिति मातहतका सदस्य विद्यालयहरूलाई पूर्ववत् रुपमा सञ्चालनका लागि निर्देशन दिएको जानकारी गराए ।
कोरोना महामारीबाट अस्तव्यस्त भएको बालबालिकाको पठनपाठन लयमा फर्कन कठिन भइरहेको अवस्थामा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेर बालबालिकाको भविष्यप्रति खेलबाड गरेको नेशनल प्याब्सनले जनाएको छ ।