काठमाडौँ । काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाह शुक्रबार साँझ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्। उनले त्यहाँ पुगेर अवस्था अवलोकन तथा जानकारी लिएका छन् ।
साँझपख बन्चरे डाँडामा पुगी ल्यान्डफिल साइट सरोकार समितिसँग छोटो कुराकानी गरेर मेयर शाह फर्किएका बताइएको छ ।
शाहले कुराकानीका क्रममा अहिलेसम्म भएका गतिविधिका बारेमा जानकारी लिनुका साथै समस्याको समाधानका विषयमा सुझाव समेत मागेका थिए ।
सिसडोल र बञ्चरेडाँडाका वरिपरिका बस्तीमा फोहोरका कारण सिर्जना भएका समस्या, स्थानीयको स्वास्थ्य र वातावरणमा परेको असर लगायतबारे पनि छलफल भएको थियो ।
छलफलमा बालेनले यो समस्या काठमाडौं उपत्यका र ल्यान्डफिल साइट दुवैको भएकाले समाधानका लागि तत्काल पहल गर्ने बताइएको छ ।
बिहीबार मात्र निर्वाचित मेयर बालेन शाहको पदभार ग्रहण बाँकी नै छ। काठमाडौंको फोहोरका विषयमा चर्को राजनीति हुने बुझेका शाहले पदभार अगाडि नै साइटमा पुगेर सहयोगी हातहरु पत्तालगाई समाधानका पाटा पत्ता लगाउन चासो देखाएका हुन् ।