वर्षाद्का कारण मेलम्चीको पानी बन्द

वर्षाद्का कारण मेलम्चीको पानी बन्द

२०७९, जेठ १७ मंगलवार

  • 805
    SHARES

  • वर्षाद्का कारण मेलम्चीको पानी बन्द

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौं ल्याइएको पानी वर्षाद्का कारण सुरुङमा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ ।

    निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उनले बताए । 

    मेलम्चीको पानी बन्द गरिए पनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ । 

    गत वर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन ।

    यस वर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो ।

    २०७९, जेठ १७ मंगलवार०२:१५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार