काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले झण्डै ५ महिना दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा गरेको तालाबन्दी बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले फोडेका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ गते लगाएको ताला खुलाउन सरकार पक्ष उदासिन देखिँदै आएको थियो ।
बुधबार दिउँसो मोटरसाइकलमा आएका केही युवाको समूहले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षको ढोकामा लगाइएको ताला फुटाएर गएको एक प्रत्यक्षदर्शी कर्मचारीले बताए ।
ताला फुटाएपछि उनीहरुले उपकुलपतिको मूख्य ढोकामैँ विज्ञप्ति टाँसेर गएका छन् । ताला फोडेको सूचना पाएपछि झडप हुने आशंकामा ठूलो संख्यामा प्रहरी आउनु भन्दा अगावै उनीहरु फरार भएका थिए । विज्ञप्तिमा विश्वविद्यालयका समस्या वार्ता सम्वादको माध्यमबाट समाधान गर्न आग्रह गरिएको छ ।
साथै तालाबन्दी लगायत गतिविधि विश्वविद्यालयमा नगर्न पनि भनिएको छ । ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी विज्ञप्तिमा ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामाना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको पनि विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाइनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ ।
‘२१ औं शताब्दीमा बन्द हड्ताल भन्दा पनि सम्वादबाटै समस्याको हल खोजिनुपर्छ, जिम्मेवार पक्षलाई ताला खोल्न आग्रह गर्दा कसैको पनि ध्यान नपुगेपछि हामी ताला खोल्ने पक्षमा पुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमार्फत् विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन पनि सरकारसँग माग गरिएको छ ।
