धनगढी । कैलालीमा जिल्ला समन्वय समितिको चुनावमा सत्ता गठबन्धनभन्दा बाहिर अलग समिकरण बन्ने भएको छ।
जिससको निर्वाचनमा अलग अलग धारमा रहेका एमाले र माओवादी एक ठाउँमा उभिएका छन्।
कैलाली जिसस गठनका लागि नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एमाले एक ठाउँमा देखिएका हुन्।
स्थानीय तह निर्वाचनमा कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्ने सहमति गरेको छ।
यी ३ दलबीच लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए। ३० गते हुने तय भएको जिसस कैलालीको निर्वाचनमा अध्यक्ष सहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्ष सहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको उनले जानकारी दिए।
माओवादी केन्द्र कैलालीका समन्वय समिति प्रमुख लाजुराम चौधरीले पनि सो सहमति भएको बताए।
१३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मतभार छ। जितका लागि १४ मतभार आवश्यक पर्छ।
बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मतभार १६ पुगेको छ।
कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको मत ७, एमालेको ५ र माओवादीको ४ मत रहेको छ।