काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
१७औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घरसंस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले भने, “जातीय भेदभाव तथा छुवाछूत भनेको घृणित, सामाजिक रुपमा अनैतिक, अमानवीय, कानुनी रुपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो ।”
नेपाली काँग्रेसका सभापति देउवाले सबै प्रकारका विभेदको आ-आफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र राष्ट्र निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गरे ।
“नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको विरुद्धमा विगत सात दशकदेखि आवाज उठ्दै आएको छ, समाजका सबै नागरिकले विना भेदभाव सम्मानित रुपमा बाँच्न पाउनुपर्छ भन्ने आन्दोलन आफैँमा सशक्त छ, मानव सृष्टि सभ्यताको विकाससँगै सुरु भएको विभेद, विकृति, विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रमा नकारात्मक प्रभाव पारेको छ, समाजमा विद्यमान धर्म, परम्परा र संस्कृति तथा मानवबिचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदको व्यवहार हुनु आफैँमा अपमानजनक कार्य हो”, उनले भने ।
विसं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूत मुक्त राष्ट्रको घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उनले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताए ।
प्रधानमन्त्री देउवाले भने, “नेपालमा लोकतन्त्रको स्थापना र पुनःवहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्नेबारे पटक पटक सार्वजनिक घोषणा भएका छन्, जातीय भेदभाव र छुवाछूत समाजको कलङ्क हो, यो कलङ्ककै रुपमा रहनु हुँदैन, प्रत्येक नागरिकको न्यायमा समानता हुने गरी जीवन जिउन पाउनुपर्छ ।”
उनले सरकारले छुवाछूतविरुद्ध ऐनरकानुन निर्माण गरी सभ्य समाज निर्माण गर्दै आएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न आग्रह गरे । जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जाने सम्मका घटना हुनु दुःखद भएको बताउँदै उनले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
आजै दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजीत’ नामक चलचित्रको शुभ मुहुर्तसमेत गरिएको छ । सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘सर्वजीत’ नामक चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व मन्त्री द्वय मीन विश्वकर्मा र दलजीत श्रीपाइली, संविधानसभाका सदस्य परशुराम रम्तेल, सांसद राजेश विश्वकर्मा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुलगायतले दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दलित महिला केन्द्रले यस वर्षको ‘ईभा कसेल सामाजिक न्याय पुरस्कार’ संविधान सभाका सदस्य शम्भु हजारा पासवानलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।