काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर बिसर्जन गर्ने बताएलगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ ।
मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा. भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो ।
गन्ध मापन गर्न नमुना संकलन गरेर फर्किएपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. पन्तले भने – ‘हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौं । अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ ।’
उनले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिए । गन्धको हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
यसअघि शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए । मेयर साह र उपमेयर डंगोललाई भेटेपछि बिमला न्यौपाने, श्रीहरि ढकाल, भजु कान्छुलगायत स्थानीयले आफूले विगतदेखि उठाउँदै आएका माग, अहिलेको अवस्था र आफ्ना चाहना सुनाएका थिए ।
त्यस क्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले दिगो व्यवस्थापनबाट दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।
स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले स्थानीयले अघि सारेको चारबुँदे माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान यथावत राखेका छन् । उनले शनिबार स्थानीयसँगको छलफलपछि अब आन्दोलन अघि बढाउने तयारीमा रहेको जानकारी दिए ।
स्थानीयले बन्चरे परिसरमा रहेका १३ गाउँका ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, व्यवस्थित कम्पनी स्थापना गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, गुठीको जग्गालाई रैकर बनाउनुपर्ने र फोहोरमैला पीडित स्थानीयलाई रोजगारी दिनुपर्ने माग अघि सारेका छन् ।