विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपालाई राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर नहिँड्न सुझाव दिएका छन् ।
राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्यमा पुगेकाले त्यस्तै एजेण्डालाई बोकेर हिँडनुको कुनै अर्थसमेत नरहेको थापाको भनाइ थियो ।
आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले इतिहास बनेर पुस्तकको पातामा पुगिसकेको विषयलाई छाडे राप्रपासँग कार्यगत एकता हुने सम्भावना जीवित रहेको बताए ।
थापाले भने, ‘राजसंस्थाको एजेण्डा छाडेर आए कार्यगत एकताका लागि राप्रपा नेपाल सधैँ तयार छ ।’
संघीयतासम्बन्धी प्रसंगमा उनले प्रदेश सरकारको औचित्य नरहेको दोहोर्याएका छन् । केन्द्र र स्थानीय सरकार अझ शक्तिशाली बनाएर लगेमा प्रदेश तहको आवश्यकता नरहेको थापाको भनाइ छ ।
‘अहिले देशमा देखा पारेको समस्या मध्ये एक समस्या संरचनागत त्रुटि हो । संरचनागत सुधारका लागि संघीयताको वर्तमान परिवर्तनलाई सुधार गरी केन्द्रमा एउटा बलिया सरकार र स्थानीय सरकार कायम गर्न उपयुक्त हुन्छ । बीचको प्रदेश सरकार वा प्रदेश तहको संरचनाको आवश्यकता छैन ’, उनले भने ।