काठमाडौँ । देशका केही स्थानमा आजदेखि मौसम सुरू भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ मा आजदेखि मनसुन सुरू भएको हो।
महाशाखाका अनुसार यसवर्ष नेपालमा मनसुन सरदर मितिभन्दा अगाडि नै देशको पूर्वी भेगबाट प्रवेश गरेको छ।
महाशाखाले आज एक सूचना जारी गर्दै यसवर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको जनाएको छ।
यस्तै देशका अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने महाशाखाको अनुमान छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएको विभागले जनाए पनि यसअघि विभागकै वेवसाइटमा नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने उल्लेख गरिएको थियो।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ।
यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमितरुपमा अद्यावधिक गर्दै जाने बुलेटिनमा उल्लेख छ।