कञ्चनपुर । अत्यधिक तापक्रम बढेपछि यहाँका स्थानिय तहले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन्। गर्मीका कारण यहाँको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरले जनाएको छ।
त्यसैगरी भीमदत्त नगरले मङ्गलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ। गर्मी बढेसँगै विद्यार्थीहरुलाई समस्या हुने भन्दै भीमदत्त नगरले आगामी शुक्रबारसम्मका लागि बिदा दिने निर्णय गरेको हो।
यहाँस्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपकराज कलौनीले गर्मीका कारण विद्यालय बन्द गरिरहेको बताए। नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन्। -रासस