काठमाडौँ । सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि अवरोध गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’
स्थानीयवासीसँग समन्वय नगरेको भन्दै हिजो (मंगलबार) पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।
गत १४ जेठदेखि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका सहरबाट फोहोर उठाइएको छैन ।
नेपालमा मनसुन भित्रिए सँगै फोहोर सडकभरि बग्दै फैलिएर विभिन्न रोगव्याधि फैलन सक्ने त्रास बढेको छ ।