काठमाडौं । बन्द, हडताल र तालावन्दीका कारण इतिहासकै अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको त्रिभुवन विश्वविद्यालय अन्तरगतको त्रिवि कर्मचारी संघको १२ औँ निर्वाचन हुने भएको छ ।
२५ सदस्यीय केन्द्रीय पदाधिकारीका लागि गत मंगलवार ५३ जना आकांक्षीले मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले समर्थित त्रिवि प्रगतिशिल कर्मचारी संगठनले एकलरुपमा अध्यक्षमा छत्र बहादुर कार्की र महासचिवमा सिर्जना भोमीको नेतृत्वमा प्यानलै दर्ता गराएको छ ।
त्यस्तै विश्वविद्यालयमा पनि सरकार समर्थित गठबन्धनले त्रिवि प्रजातन्त्रवादी, वामलोकतान्त्रिक कर्मचारी समूह बनाएर अध्यक्षमा पुण्य प्रसाद आचार्य र महासचिवमा दुर्गा प्रसाद तिमिल्सिना रहने गरि प्यानलै दर्ता गराएका छन् । आचार्य नेपाली कांग्रेस र तिमिल्सिना माओवादी केन्द्र समर्थक कर्मचारी हुन् । त्यस्तै स्वतन्त्रतर्फ वरिष्ठ उपाध्यक्षमा १, महासचिवमा १ र सदस्यमा १ जनाको मनोनयन दर्ता भएको छ ।
भोलि शुक्रवार सम्म दावी विरोध तथा उमेदवारी फिर्ताको समय रहेको छ । शुक्रवार साँझै उमेदवारको अन्तिम नामावली प्रकाशन एवं निर्वाचन चिन्ह वितरण गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । असार १० गते हुने निर्वाचनमा देशैभरबाट ४ हजार ९ सय ७९ जनाले मतदान गर्नेछन् । निर्वाचनका लागि देशैभर ७३ वटा केन्द्र तोकिएका छन् ।
माघ २२ गतेबाट बन्द रहेको त्रिभुवन विश्वविद्यालय खुलाउन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेल (सुनिल)ले कुनै प्रयास नगरेका आरोप लाग्दै आएको छ । यस परिस्थितिमा हुन लागेको कर्मचारीको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ ।
यसैबिच अध्यक्षका प्रत्याशी रहेका प्रगतिशिल समूहका छत्र बहादुर कार्कीले तालाबन्दी नगरि वार्ता तथा सम्वादबाटै समस्याको हल खोज्न सरोकारित पक्षलाई आग्रह गरेका छन् ।
असल र सभ्य समाज निर्माण तथा ज्ञान आर्जन गर्ने पवित्र थलोलाई रणभूमि नबनाउन पनि कार्कीको आग्रह छ । त्यस्तै सरकारले विश्वविद्यालयलाई ज्ञान निर्माणको केन्द्र बनाउने गुड्डी हाँक्ने गरेको तर विवेकमा भोटे ताल्चा ठोकेकोमा पनि उनको आक्रोश छ ।