काठमाडौँ । अन्ततः चौतर्फी रुपमा दवाव बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ ।
संघले विश्वविद्यालय पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि तालाबन्दी गर्दैआएको थियो ।
नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो ।
उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।
‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,’ उनले भने ।
ताला खोल्न अनेरास्ववियुले पनि माग गर्दै आएको थियो। त्रिवि पदाधिकारी भ्रष्टाचारमा संलग्न रहेको आरोपसहित नेविसंघले बर्खास्त गर्न माग गर्दै ताला लगाउँदै आएको थियो ।
यद्यपि भ्रष्टाचार छानबिन गर्ने निकायमा नगई शैक्षिक क्षेत्रनै अस्तव्यस्त बनाउने गरि १३९ दिन सम्म भएको बन्दको विषयमा एमालेका सांसदहरुले प्रतिनिधिसभा र राष्ट्रिय सभामै विरोध जनाए पछि नेवि संघ पछाडि हट्न बाध्य भएको सरोकारवालाको भनाई छ ।
विहिवारको संसदको बैठकमा एमाले सांसद भिम रावल सदनमा गर्जँदै गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा मन्त्री देवेन्द्र पौडेलको आडमा विद्यार्थी संगठनले तालाबन्दी गरेका प्रमाण पेश गरेपछि सरकार समर्थित विद्यार्थी संगठन ताला खोल्न बाध्य भएको हो ।