सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

२०७९, जेठ २७ शुक्रवार

  • 917
    SHARES

  • सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

    दमौली । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौँ लगिएको हो । 

    तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौं लगिएको परिवारले जनाएका छन् । 

    भित्ता काट्न सुरु

    पृथ्वीराजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ । यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ता काट्न सुरु गरिएको हो । निरन्तर वर्षाका कारण आज बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । “डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्ने छ”, उनले भने, “बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।”

    सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ । 

    सडक भासिएको ठाउँमा एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

    मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुसल भेटिएका थिए । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका इञ्जीनियरहरू घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिए । प्राविधिकको सुझावअनुसार अघि बढ्ने उनले बताए । 

    २०७९, जेठ २७ शुक्रवार०१:३५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार