काठमाडौँ । मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ कुम्हरौडाका जैवीर झाको निधन भएको छ वर्ष भइसकेको छ । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि जारी गरेको मतदाता नामावलीमा उनको नाम यथावत् छ ।
झाकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब दुई वर्ष भयो । उनको नाम पनि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदाता नामावलीको सूचीमा छ । उक्त वडामा कुल दुई हजार ७८६ मतदाता छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
गत स्थानीय तह निर्वाचनबाट पुनर्निर्वाचित वडाध्यक्ष गङ्गा साहका अनुसार मृत्यु भएका करिब दुई सय मतदाताको नाम मतदाता नामावलीमा छ । वडाध्यक्ष साहकै भनाइलाई आधार मान्दा एउटा वडामा मात्रै मतदाता नामावलीमा करिब ७।१७ प्रतिशत मृतक मतदाता छन् ।
मतदाता नामावलीमा वर्षौंअघि मृत्यु भएका मतदाताको नाम अझै सूचीकृत रहेको लक्ष्मीनियाँ गाउँपालिकाको उक्त वडा एकल भने होइन । उपत्यकाको ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र महर्जनका अनुसार उक्त पालिकामा पाँच-सात प्रतिशत मृत्यु भएका मतदाताको नाम नामावलीमा सूचीकृत छ ।
गोदावरी नगरपालिकामा कुल मतदाता करिब ५४ हजार छन् । प्रमुखकै भनाइलाई आधार मान्दा कम्तीमा दुई हजार पाँच सय मृत्यु भएका व्यक्ति अझै मतदाताको सूचीमा छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष मिथिलेशकुमार कर्णले उक्त वडामा मृत्यु भएका १४० जनाको नाम मतदाता नामावलीमा सूचीकृत रहेको जानकारी दिए । उक्त वडामा दुई हजार ३१० जना मतदाता छन् । सूचीमा अटाएका मृतक मतदाताको प्रतिशत ६.१४ हो ।
बागमती प्रदेशको भरतपुर महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष यमलाल कँडेलले छ हजार मतदाता रहेको उक्त वडामा करिब एक सय ५० जना मृतक मतदाता रहेको जानकारी दिए । उक्त सङ्ख्या वडाका कुल मतदाताको २.५ प्रतिशत हुन आउँछ ।
दुई हजार २६५ मतदाता रहेको बागमतीकै काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष निरञ्जन विष्टका अनुसार उक्त वडामा ८४ जना मृतक मतदाता छन् । जुन कुल मतदाताको ३.७० प्रतिशत हो ।