वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ :  अर्थमन्त्री

वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ :  अर्थमन्त्री

२०७९, आषाढ ९ बिहिवार

  • 1.0K
    SHARES

  • वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ  :  अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् । 

    विश्व बैङ्कको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुनसक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारेका थिए ।

    “गरिब किसानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमानदारीपूर्वकता फिर्ता गरेको उदाहरण पनि छन्”, उनले भने, “तर अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन ।  त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौँ ।” 

    उनले आगामी आर्थिक वर्षको बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए ।

    किसानको उत्पादन बजारसम्म सहजै पुर्‍याउनका लागि कृषि एम्बुलेन्सको सुरुआत गरेको उनले बताए । उनले  वार्षिक रु साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताए ।

    “आयात प्रतिस्थापनका लागि कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ”, उनले भने । जमिन, पानी वन तथा समग्र प्राकृतिक स्रोतहरूको अधिकतम उपयोग गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए ।

    बजेटले लिएको नीतिकै कारण भारतको हैदरावादमा रहेको दुई वटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए । कार्यक्रममा विश्व बैङ्कको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए । 

    उनले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताएका थिए ।

    २०७९, आषाढ ९ बिहिवार०७:११:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार