काठमाडौं । शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हुँदा ल्याउने भनेर निर्णय गरिएको ‘सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’ छ ।
चौथोपटक सिंहदरबार ‘इनिङ’ गर्दैगर्दा प्रधानमन्त्री देउवाले पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय सदाचार नीति’ ल्याउने फाइलमा हस्ताक्षर गर्नुभएको थियो । तर, उहाँले मुलुकमा सुशासन कायम गर्ने लक्ष्यसाथ ल्याउने भनिएको ‘सदाचार नीति’ अवरुद्ध छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रधानमन्त्री देउवाले खासै चासो दिन नसक्दा सो नीतिलाई अन्तिम रुप दिने प्रक्रिया रोकिएको थियो । उहाँले चौथो पटक २४ जेठ २०७४ मा प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैगर्दा सो ‘नीति ल्याउने’ भन्दै पहिलो निर्णय गर्नुभयो । तर, त्यतिबेला उनले कार्यान्वयन गराउन सकेनन् ।
अहिले पाचौं पटक प्रधानमन्त्री भएर आएपछि भने उहाँले यसअघि हस्ताक्षर गरेको सदाचार नीति कुनै सोधीखोजी नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी बताउँछन् । झण्डै पाँच वर्षदेखि सो नीति गायब छ ।