काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो ।
तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय कार्यान्वयन हुन सकिरहेको छैन । मन्त्री हेरफेर गर्ने निर्णयसँगै पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्णय कार्यान्वयन गर्न पटक–पटक प्रधानमन्त्री देउवालाई भेटेर दबाब दिँदै आएका छन् । तर, प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्नका लागि ध्यान नदिएको बताएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
नेकपा (एस) ले आफ्ना मन्त्रीहरू फिर्ता बोलाई ती ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको आज १८ दिन पुगेको छ । गठबन्धन सरकारमा कुनै पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि केही घन्टामै नयाँ मन्त्रीको शपथ हुनुपर्ने हो ।
तर एकीकृत समाजवादीले मन्त्री बनाउने भनेकाहरूको शपथको टुंगो अझै भइसकेको छैन । सरकारमा रहेका मन्त्रीहरू ढुक्कका साथ काम गरिरहेका छन् भने नयाँ मन्त्रीमा सिफारिस भएकाहरू शपथको खबरको प्रतीक्षामा रहेका छन् ।
एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अब दिनमा होइन केही घन्टाभित्रै मन्त्रीमण्डल पुनर्गठन हुने बताए । तर, प्रधानमन्त्री देउवा अझै नयाँ मन्त्रीहरूका लागि शपथ खुवाउने सुरसारमा नरहेको बताइएको छ ।
एकीकृत समाजवादीले गत जेठ २२ मा चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।