काठमाडौं । धादिङ घर भएकी २७ वर्षीया सुस्मिता लामिछानेले मतदाता नामावलीमा नाम समावेश गर्न शुक्रबार फोटो खिचे । उनले यसरी फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएको यो पहिलोपटक भने होइन।
यसअघि दुईपटकसम्म नाम लेखाउँदा पनि आफ्नो गाउँठाउँमा नामावली नभेटिएपछि सुस्मिताले तेस्रोपटक नाम लेखाएकी हुन् । ‘भोट नहाल्दा उत्पात नै हुन्छ भन्ने त होइन। नागरिकको सबैभन्दा ठूलो अधिकार मतदान गर्नु भएकाले त्यसलाई सुरक्षित गर्न मात्र खोजेकी हुँ,’ स्वास्थ्य क्षेत्रमा कार्यरत उनले भनिन्, ‘तर निर्वाचन आयोगको गैरजिम्मेवारीले अधिकार प्रयोग गर्न त टाढाको कुरा, नामावलीमा नाम लेखाउन पनि पाएकी छैन।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
१८ वर्ष उमेर पुगेका हरेक नेपाली नागरिक मताधिकार प्रयोग गर्न सक्षम हुन्छन्। तर निर्वाचन आयोगले फोटोसहितको नामावली संकलन गर्ने क्रममा गरेको त्रुटिका कारण सुस्मिताजस्ता धेरै नागरिक मताधिकार प्रयोग गर्नबाट वञ्चित हुँदै आएका छन्।
नामावली संकलनका क्रममा आयोगका कर्मचारीले सही ठेगाना नलेख्दा झन्डै ३ लाख नागरिक गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन्। मतदाताको नाम, फोटो र ठेगाना मिले पनि उमेरदेखि परिवार (बाबु, आमा, श्रीमान्, श्रीमती) का नाममा अनगिन्ति त्रुटि छन्।
आवधिक र स्वस्थ निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका सुन्दर पक्ष हुन्। स्वस्थ, निष्पक्ष र भयरहित निर्वाचन गराउन निर्वाचन आयोग हरसमय तयारी अवस्थामा रहनुपर्छ । तर २०७४ सालको आम निर्वाचनपछि आयोगले चुनावका लागि अन्य तयारी होइन, मतदाता नामावली अद्यावधिकसमेत नगरेको देखिएको छ।