काठमाडौँ । कान्तिपुर हिसान बृहत् शैक्षिक मेलामा विद्यार्थी र अभिभावक उत्साही देखिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा शनिबार सम्ममा १ लाखले अवलोकन गरेका आयोजकले जनाएका छन् । मेलामा ७४ वटा शिक्षण संस्थाको स्टल रहेका छन् ।

एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको मेलाका संयोजक युवराज शर्माले जानकारी दिए । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको समुद्घाटन गरेका थिए ।
‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिइएको ‘कान्तिपुर हिसान एडुफेयर’ ४ दिन अर्थात् असार १३ गते सोमबारसम्म सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्तरुपमा मेलाको आयोजना गरेका हुन् ।

विद्यार्थीलाई आकर्षण गर्न कलेजले आफ्ना मौलिक सिकाई विधिका अलावा गतिविधि झल्कने बृत्तचित्र नै निर्माण गरेर प्रदर्शन गरिरहेका छन् । सहभागिहरुलाई लक्षित गरेर प्रत्येक दिन फरकफरक प्रतियोगिता आयोजना भईरहेका छन् ।
विजेतालाई छात्रवृत्ति देखि नगदै सम्मका पुरस्कारका व्यवस्था गरिएको छ । हरेक दिन मेला बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

कलेज स्टल राख्न महँगो दररेट राखिएका कारण सहभागि हुन नसकेको समेत केही प्रिन्सिपलको गुनासो छ ।
राष्ट्रिय उच्चस्तरिय शिक्षा सुधार आयोगमा सदस्यको रुपमा रहेका रमेश शिलवालले समेत निजी शिक्षालाई महँगो बनाउन भुमिका खेलेको आरोप लगाउने पनि प्रदर्शनी स्थलमा भेटिए । अघिल्लो सरकारले बनाएको सो आयोग प्रतिवेदन नै सार्वजनिक गर्न नसकि विघटन भएको थियो ।


