काठमाडौँ । सत्ता गठबन्धनको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएपछि जसपा फुट्ने लगभग निश्चित भएको छ।
बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए। भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले बताए।
‘एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिऔँ भन्ने उहाँको प्रस्ताव छ,’ कार्कीले भने, ‘एकले अर्कालाई गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुवै अध्यक्ष तयार भएका छन्।’
स्रोतका अनुसार दुई अध्यक्ष सांसदहरूलाई समेत पार्टी रोज्न दिने कुरामा सहमत भएका छन्।
पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो।
पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए। त्यसका लागि यादव तयार भएनन्। गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो। यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए। यद्यपि पार्टी विभाजन हुने डरले भट्टराई पछि हटेको स्रोतको दाबी छ।
यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा फुटाउन खोज्दाको रियाक्सनमा रातारात संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।