एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

२०७९, आषाढ १७ शुक्रवार

  • 753
    SHARES

  • एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् ।

    आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

    एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन् । उक्त विषयमा संसदीय छानविन समिति बनाउन एमालेले माग गर्दै आएको छ ।

    बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पु-याएर मुलुकलाई हानी पु-याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए ।

    बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए ।

    त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए ।

    एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाए । बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

     

    २०७९, आषाढ १७ शुक्रवार१२:२६:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार