एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देश टाट पल्टिएको र यहाँको आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने बताएका छन्।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो बताएका हुन्।
सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौँसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन्।
कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए।
‘हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’, प्रधानमन्त्रीले भने, ‘सत्य यही हो।’
श्रीलंका टाट पल्टिएको देशको रूपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको उनले जानकारी दिए।
विदेशी मुद्रा सञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन। अहिले देशमा पेट्रोलको चरम संकट छ। इन्धन सकिएपछि विद्यालय बन्द छन् भने निजी कार्यलयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ।
८० प्रतिशत जनताले खाद्यान्न अभाव सामना गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ।