पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई कर्मयोगी बद्रीप्रसाद पहाडी पुरस्कार

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई कर्मयोगी बद्रीप्रसाद पहाडी पुरस्कार

२०७७, पौष २२ बुधवार

  • 2.0K
    SHARES

  • पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई कर्मयोगी बद्रीप्रसाद पहाडी पुरस्कार

    पौष २२, काठमाडौँ ।

    मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार–२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त एवं पूर्वप्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ । 

    समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु एक लाख १० हजार पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

    सोही कार्यक्रममा आठवटा सामाजिक संस्थाले पनि पोखरेललाई सम्मान गरेका थिए । 

    कार्यक्रमलाई सम्बोधन गर्दैै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहँदा होस् वा निजी जीवन निर्वाहका क्रममा बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामा केन्द्रित रहेको बताए ।

    आफूजस्ता कैयाँै युवाको उत्प्रेरकका रुपमा पहाडीले काम  गरेको उनले सुनाए ।  

     “हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाको क्षयीकरण तथा तेजोवध हुनु मुलुकको अवन्नतिको कारण हो, अहिले अन्तर्राष्ट्रियस्तरमा नेपालको शाख गिरेको छ”, उनले भने ।

    समाजका संस्थापक सभापति पहाडीले देशमा शान्ति खलबलिन दिन नहुनेमा जोड दिए । समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्य लक्ष्मी राना, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि नागरिक संस्था सक्रिय हुनुपर्ने बताए ।

    कार्यक्रममा पुरस्कृत पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले कल्याणकारी काममा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट रु दुई लाख २० हजार नगद सहयोग हस्तान्तरण गरे ।

    पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।  

    विसं २०१० जेठ २ गते खोटाङको ऐँसेलुखर्कमा जन्मिएका पोखरेलले विसं २०६४ चैत २८ गते जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

    यसैगरी तीन दशकभन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्वसमेत उनले बहन गरेका थिए ।

    सन् २००८ मा बङ्गलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत सङ्ग्रह प्रक्रियामा संयुक्त राष्ट्रसङ्घका महासचिवले पोखरेललाई दुई पटक उच्चस्तरीय समूहमा नियुक्त गरेका थिए ।

    युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वर्ड केनेडी स्कूलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्यान्मारमा सम्पन्न संसदीय निर्वाचनमा उनी कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सहअध्यक्ष थिए ।

    हाल उनी कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समूहको सदस्य हुन् ।

    समाजद्वारा समाजसेवा÷सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु एक लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त रु १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।

    पहाडीको जन्म विसं १९९२ चैत १ गते तत्कालीन पूर्व ६ नम्बर मादी विर्ता सिरिसे हालको सङ्खुवासभामा भएको थियो । 

    पिता पदमप्रसाद दाहाल र आमा कृष्णकुमारी दाहालको सुपुत्र पहाडीले जीवनको आधा दशक प्रशासन क्षेत्रमा योगदान गरेका थिए ।

    आधा शताब्दीदेखि उनी समाजसेवामा सक्रिय छन् । साठी वर्ष अगाडि केही समय मादी हाइस्कूलको अवैतनिक शिक्षकका रुपमा समेत सेवा गरेका पहाडीले विराटनगरस्थित विभिन्न शैक्षिक प्रतिष्ठानको व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यका रुपमा समेत योगदान गरेका छन् । 
      
    पहाडीका बर्दियामा भूमिसुधार नामक पुस्तक र दर्जनौँ लेख रचना प्रकाशित भएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रिय रहेका पहाडीले नेपालको सबै जिल्लाको भ्रमण गरिसकेको जनाइएको छ ।

     

    २०७७, पौष २२ बुधवार०५:४१:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार