काठमाडौँ । शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी रातीमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि सामान्यता सफा रहनेछ।
प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।