काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदैछन्।
उनी चारदिने नेपाल भ्रमणमा आउन लागेका हुन्। लिउसँग आठ सदस्यीय टोली रहेको छ।
भ्रमणका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग भेटवार्ता गर्नेछन् ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो।
गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए।
नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको छ। तर, थप प्रक्रिया अगाडि बढ्न सकेको छैन।