ज्योतिषी हेराएर निर्वाचन मिति तय

ज्योतिषी हेराएर निर्वाचन मिति तय

२०७९, आषाढ २९ बुधवार

  • 749
    SHARES

  • ज्योतिषी हेराएर निर्वाचन मिति तय

    काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ ।

    प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।

    ‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसकेका छन्, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगामी २ मंसिरको मिति प्रस्ताव गरेको छ ।

    आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।

    निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले कानुनी व्यवस्थाअनुसार नै सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको जानकारी दिए । ‘आयोगले कानुनी व्यवस्थाअनुसार नै सरकारसमक्ष प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति प्रस्ताव गरेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने, ‘एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी आयोगका तर्फबाट मिति प्रस्ताव गरिएको छ, मिति सरकारकातर्फबाट तय हुने विषय हो ।’

    प्रमुख आयुक्त थपलियाले आयोगलाई निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्नेतर्फसमेत प्रधानमन्त्रीलाई आयोगका तर्फबाट ध्यानाकर्षण गराइसकिएको जानकारी दिए । 

    २०७९, आषाढ २९ बुधवार०७:४१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार