महासचिव पोखरेल भन्छन्, 'कालोधनलाई सेतो बनाउन गभर्नरलाई हटाउने खेल शुरु भयो'

महासचिव पोखरेल भन्छन्, 'कालोधनलाई सेतो बनाउन गभर्नरलाई हटाउने खेल शुरु भयो'

२०७९, श्रावण १ आइतवार

  • 1.3K
    SHARES

  • महासचिव पोखरेल भन्छन्, 'कालोधनलाई सेतो बनाउन गभर्नरलाई हटाउने खेल शुरु भयो'

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन्।

    पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    महासचिव पोखरेलले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो। त्यसपछि हुण्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो। त्यही कालोधनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो।’

    मन्त्री शर्माले केही समय अगाडि विदेशबाट आएको संकास्पद चालिस करोड रुपयाँलाई छानबिन नगर्न तिब्र दबाब दिएका थिए । 
    त्यस्तै, पोखरेलले एम अधिकारीका विषयमा अनर्गल प्रचार गरेकोमा संचार गृहप्रति पनि रोष प्रकट गरे । 

    ‘राजधानीमा फेक न्युजका कारखाना हुन्छ। त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ’, उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो। वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यही हो।’

    उनले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी भनेको दाबी गरे। तर अधिकारीले भने आफूलाई विभागमा रहेको जानकारी नभएको बताइसकेका छन्।

    पोखरेलले अब नेपालका पार्टीहरू दुई लाइनमा ध्रुवीकरण हुनुपर्ने बताए।

    ‘धेरै पार्टी भएर मात्रै लोकतन्त्र हुँदैन। देशको समृद्धिका लागि गठबन्धनभन्दा ध्रुवीकरण राम्रो हो’, उनले भने, ‘बुर्जुवाको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील नेतृत्व एमालेले गर्छ। अरू सबै पार्टी यसैमा ध्रुवीकरण भए हुन्छ।’

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेत एमालेमा पुनः एकीकरण गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा पोखरेल भन्छन्, ‘हामी नीति र नेतृत्वमा विश्वास राख्छौँ। उहाँहरू त्यसमा सहमत हुनुहुन्छ भने ठिक छ। तर यही अवस्थामा एकीकरण सम्भव छैन।’

    २०७९, श्रावण १ आइतवार११:४६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार