दोधारमा काँग्रेस नेता

दोधारमा काँग्रेस नेता

२०७९, श्रावण २ सोमवार

  • 785
    SHARES

  • दोधारमा काँग्रेस नेता

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ ।

    बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    गत मंसिरमा सम्पन्न काँग्रेसको १४औं महाधिवेशनबाट इतर समूहको नेतृत्व गरेका नेता डा शेखर कोइराला पनि पछिल्लो समय काँग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलका पक्षमा धारणा दिन थालेका छन् ।

    तर, काँग्रेसका दोस्रो तहका मोहन बस्नेतसहितका केही नेताहरूले भने स्पष्ट रूपमा गठबन्धनका पक्षमा मुख खोलेका छैनन् । उनीहरू आफू निर्वाचित भएको क्षेत्र अरू दलका उम्मेदवारलाई छाड्न नहुने पक्षमा छन् । काँग्रेसका धेरै जसो नेताहरूलाई गठबन्धन नभए हारिने, गठबन्धन कायम रहे आफ्नो क्षेत्रको सिट गुम्ने डर छ ।

    बस्नेत सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारीमा छन् । उनीसँगै सो क्षेत्रबाट प्रतिनिधि सभामा हाल सभामुख रहेका अग्निप्रसाद सापकोटा पनि उम्मेदवार बन्ने तयारीमा छन् । २०७४ को प्रतिनिधि सभामा बस्नेत सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सापकोटासँग पराजित बनेका थिए । अहिले उनीहरू दुवै जना सत्तारूढ गठबन्धनसँग निकट छन् ।

    काँग्रेस वरिष्ठ नेता पौडेलसहित नेता सिटौला र सिंह भने गठबन्धन गर्दा सहजै जित्न सकिने भन्दै गठबन्धनको पक्षमा खुल्दै आएका छन् । पौडेललाई गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसन)लाई मिलाउन सकस छ । उनीहरू दुवैको निर्वाचन क्षेत्र तनहुँ १ हो । दुवै नेता गठबन्धन आबद्ध दलमा छन् । त्यहाँ दुवै नेता प्रतिस्पर्धामा उत्रिँदा गठबन्धनबाहेकका दलले निर्वाचन जित्न सक्छन् ।

    २०७९, श्रावण २ सोमवार०७:४३:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार