आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने

आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने

२०७९, श्रावण ५ बिहिवार

  • 1.1K
    SHARES

  • आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने

    काठमाडौँ । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

    निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी अब तात्दै छौं,’ एक आयुक्तले भने । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    सरकारका एक मन्त्रीका अनुसार आगामी साताको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाह अनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश आयोगलाई पठाइसकेका छन् ।

    आयोगले भने यसअघि नै गत २२ असारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन एकै चरणमा गर्नेगरी सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको छ ।

    आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।

    निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

    आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै सोहीअनुसारको समय माग गर्दै आएको छ । प्रधानमन्त्रीलाई सो विषयमा आयोगले ध्यानाकर्षणसमेत गराइसकेको छ ।

    आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी जम्मा ७ अर्ब ८० करोड खर्च भएको थियो ।

    २०७९, श्रावण ५ बिहिवार०९:१४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार