काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज(शनिबार) देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
कम्युनिष्ट पार्टीहरूले देशभरि नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेका छन्।
सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।
पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र पुष्पलालको भनाइ अनुसार मोतीदेवीसमेत पाँचजना भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।
विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।
तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन।
विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा सुरु गरेका थिए।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन्।
पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गरेका थिए ।
कांग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे समेत उनले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गरेका हुन्।
विसं २००५ मा माक्र्स र एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्रको पहिलोपटक उनले नेपाली भाषामा अनुवाद गरेका थिए। पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ।
आजै कीर्तिपुर चम्पादेवी पुगेर नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।